अभिनेत्री वर्षा शिवाकोटी देशको वर्तमान अवस्थाप्रति विशेष चासो देखाउने र त्यसबारेमा प्रतिक्रिया दिन रुचाउने अभिनेत्री हुन्। उनी देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाबारे बेलाबेला आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गरिरहन्छिन्।
यसैबीच उनले नेकपा प्रचण्ड–नेपाल समूहको विरोध सभामा सहभागिहरुलाई भावुक सन्देश पठाएकी छिन्। सामाजिक सञ्जालमार्फत आन्दोलनको नेतृत्वकर्तालाई सम्बोधन गर्दै वर्षाले पछिल्ला दिनहरुमा बढिरहेका बलात्कारका घटना र पीडितले न्याय नपाउने अवस्थाकाे ध्यानाकर्षण गराउने प्रयास गरेकी छिन्।
‘नारीलाई भगवान मानेर पूज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन्। निर्मला र सम्झनाजस्तै भागीरथीले पनि न्याय पाउँदिनन् त? के यति असक्षम छ हाम्रो न्यायपालिका? के यति कमजोर छ हाम्रो राज्य व्यवस्था? एउटा अपराधीको पहिचान गरी सजाय दिन नसक्ने? के गरिबका लागि न्याय त्यति महँगो भइसक्यो?’, प्रश्न गर्दै उनले फेसबुकमा लेखेकी छिन्।
‘तिम्रो र्यालीमा आएका जति मानिसले मेरा बहिनीहरुको लागि न्याय मागिदिए फेरी अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि? तिम्रो आन्दोलनको नारा यदी बलत्कार र बलत्कारीको विरूद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनिको बलात्कारीले सजाय पाउँथ्यो कि? हामी केका लागि लड्दै छौँ ? हाम्रो माग के हुनपर्ने हो? नारा के हुनपर्ने हो? आफै विचार गरौँ,’ उनले थप लेखेकी छिन्।
‘अपराधीको मनोबल झन् बलियो बन्दै छ। पीडित अझै पीँडामै छन्। जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भइसक्यो,’ उनी लेख्छिन्, ‘देश झन झन अस्थिरतातर्फ जाँदैछ। कुर्सीको लडाइँ छोड, सत्यको लागि लड, जनाताको पक्षमा लड ,जीत तिम्रै हुनेछ। न्याय दिन अझ विलम्ब नहोस।’