स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बीच च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ १६ मा प्रतिस्पर्धा हुँदैछ। दुई टोलीबीचको पहिलो लेगको खेल फेब्रुअरी १७ मा हुनेछ।
दुई ठूला टोलीबीचको भिडन्तलाई लिएर विभिन्न अड्कलबाजीहरु शुरु भइसकेका छन्। बार्सिलोना र पीएसजीबीचको महाभिडन्तको केन्द्रमा अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र ब्राजिलियन स्ट्राइकर नेयमार जुनियर रहेका छन्।
नेयमार बार्सिलोनाका पूर्व खेलाडी हुन्। नेयमार बार्सिलोनामा रहेका बेला मैदानमा मेसी र उनीबीच उत्कृष्ट तालमेल मिल्थ्यो। उनीहरु मिल्ने साथी पनि हुन्। च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएसँगै नेयमारले मेसीलाई छिट्टै भेटौंला साथी भन्दै सन्देश पनि पठाएका थिए।
तर, नेयमारले बार्सिलोनाविरुद्धको खेल गुमाउने खतरा बढेको बताइएको छ। बुधबार राति फ्रेन्च कपको राउण्ड अफ ६४ मा पीएसजीले स्टेड मलहर्बे कायनको सामना गरेको थियो। खेल पीएजसीले १–० गोलले जितेको थियो। उक्त खेलमा नेयमार पनि सहभागि थिए। नेयमार चोटबाट ग्रसित खेलाडी हुन्। उनले करियरमा चोटकै कारण धेरै खेल गुमाएका छन्।
बुधबार रातिको उक्त खेलमा पनि नेयमार विपक्षीको खेलाडीको ट्याकलका कारण मैदानमा लडेका थिए। र, उनलाई दोस्रो हाफको ६४ औं मिनेटमा नेयमार बाँया योजक मांसपेशी समात्दै मैदानमा लडे। त्यसपछि उनलाई प्रतिस्थापन गरियोे। नेयमारको पुराना चोट बल्झिएको हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
यसै चोटका कारण नेयमारले बार्सिलोनासँगको खेल गुमाउने खतरा रहेको उल्लेख गरिएको छ। नेयमारका सहकर्मीले पनि नेयमार अर्को खेलका लागि उपलब्ध हुनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन्। तर, नेयमार पूर्णरुपमा निको भएर बार्सिलोनाविरुद्धको खेलमा मैदान उत्रने आशंका गरिएको छ।