नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन्। बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि उनले ट्वीट गरेका हुन्।
उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति।’ त्यस्तै सरकारलाई झ्यालखानाको संख्या थप्न पनि उनले भनेका छन्।
‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’राज्यविरूद्धको कसूर आरोपमा महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोलीले पक्राउ गरेको हो।