नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीबार विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका हुन्।
लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन्।
‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ।’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शखमुलस्थित निवासबाट पक्राउ गरेको थियो।