नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परिन्। राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले उनलाई शंखमुलस्थित उनकै निवासबाट बिहिबार पक्राउ गरेकाे हाे। झाँक्री पक्राउ परेपछि यसको विरुद्धमा नेताहरुले बोलेका छन्।
रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग प्रचण्ड–नेपाल समूहको माग
प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीबार विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका हुन्। लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन्।
रामकुमारी झाँक्रिलाई पक्राउ गरेपछि प्रधानमन्त्री ओलीविरुद्ध खनिए प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झँक्रीलाई पक्राउ गरिएको बताएका छन्। पेरिसडाँडामा बिहिबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको बताएका हुन्। प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको आक्रमण भएको बताए। यसबारेमा आफूले निर्णय गर्ने पनि उनले जानकारी दिए।
झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोश : सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन्। बिहीबार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि उनले ट्वीट गरेका हुन्।
उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने रु उहिले महाराजा अहिले राष्ट्रपति।’ त्यस्तै सरकारलाई झ्यालखानाको संख्या थप्न पनि उनले भनेका छन्।
‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’राज्यविरूद्धको कसूर आरोपमा महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोलीले पक्राउ गरेको हो।
रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको नाङ्गो हस्तक्षेप : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताएका छन्।
झाँक्रीलाई पक्राउ गर्नु संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप भएको पनि पौडेलले बताए।झाँक्रीलाई पक्राउ गरिएको घटनाको घोर भत्सर्ना गर्ने भन्दै पौडेलले उनलाई विनाशर्त रिहा गर्न माग गरेका छन्।
रामकुमारी झाँक्रीको पक्राउ सर्वसत्तावादी र अधिनायकवादी चरित्र : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाले सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने पनि ठोकुवा गरेका छन्।
‘अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ’, कोइरालाले लेखेका छन्। कोइरालाले झाँक्री पक्राउको भत्र्सना गर्दै तत्काल रिहाइको माग समेत गरेका छन्।
रामकुमारी पक्राउबारे सुरेन्द्र पाण्डे भन्छन् : सरकारले फासीवादी तरिका अपनाएको सन्देश दियो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले फासीवादी तरिका अपनाउन खोजेको सन्देश दिएको बताएका छन्। रामकुमारी झाँक्री नेता मात्रै नभएर विधायक समेत भएकाले उनको पक्राउ लोकतन्त्रमाथिको धावा भएको पाण्डेले बताए।
रामकुमारीको गिरफ्तारी तानाशाहीकरणको अर्को प्रक्रिया हो : झलनाथ खनाल
प्रचण्ड–नेपाल नेतृत्वको नेकपा नेता झलनाथ खनालले रामकुमारी झाँक्रीको गिरफ्तारी तानाशाहीकरणको अर्काे प्रक्रिया भएको बताएका छन्। नेता खनालले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर शुरू गरेको तानाशाहीकरणलाई अघि बढाउन खोजेको बताए।
रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरियोस् : कमल थापा
प्रचण्ड–नेपाल नेतृत्वको नेकपा नेता रामकुमारी झाक्रीलाई तत्काल रिहा गर्न राप्रपा अध्यक्ष कमल थापाले माग गरेका छन्। उनले ट्विटरमार्फत झाक्री तत्काल रिहाई गर्न माग गरेका हुन्। ‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्’ उनले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन्।