च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ मा स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी)बीचको खेल सबैभन्दा चाखलाग्दो खेल हो। दुई टोलीबीचको राउण्ड अफ १६ को पहिलो लेग नेपाली समयअनुसार फागुन ४ गते मंगलबार राति १ः४५ बजे हुनेछ। खेल बार्सिलोनाको घरेमु मैदान क्याम्प नोउमा हुनेछ।
च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएदेखि नै बार्सिलोना र पीएसजीबीचको खेलबारे सर्वत्र चर्चा भइरहेको छ। उपाधि दाबेदार दुबै टोलीको भेट राउण्ड अफ १६ मै हुनुले धेरैलाई चकित बनाएको थियो। दुई क्लबबीचको खेललाई कतिपयले लियोनल मेसी भर्सेस नेयमार जुनियरको रुपमा पनि व्याख्या गरिरहेका छन्। यद्यपी, चोटका कारण नेयमारले उक्त खेल खेल्नेमा आशंका पैदा भएको छ।
यसैबीच, पीएसजीका मिडफिल्डर एन्डर हेरेराले उक्त खेलअघि आफ्नो प्रतिक्रिया दिएका छन्। उनले बार्सिलोनालाई पराजित गर्न पीएसजीले गरिरहेको तयारीबारे जानकारी दिएका छन्।
‘मेसी सहज छैनन्। डेजोङलाई रोक्न पनि मुश्किल नै छ,’ उनले भनेका छन्, ‘उनीहरुसँग अराउजो हुन्छन् कि हुँदैनन् मलाई थाहा छैन, तर उनको खेल कदम बुझ्न गाह्रो छ।’
‘मैले आजसम्म देखेको र खेलको खेलाडीमध्ये मेसी सबैभन्दा उत्कृष्ट हुन्। यो मन्दिरजस्तै सत्य कुरा हो,’ उनले भने। हेरेराले खेल कसले जित्छ भनेर दाबी गर्न नसकिने बताए। यद्यपी, आफूहरु बार्सिलोनालाई पराजित गर्ने तयारीमा जुटेको उनले जानकारी दिएका छन्।
र याे पनि,
चोटबाट ग्रसित नेयमार, बार्सिलोनाविरुद्धको महाभिडन्त गुमाउने खतरा