जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। बिहीबर भएको फाइनल खेलमा मेक्सिकोको टिग्रेसलाई १–० गोलले हराउँदै बायर्नले उपाधि उचालेको हो।
बायर्नलाई उपाधि जिताउन बेन्जामिन पाभार्डले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५१ औं मिनेटमा बायर्नका लागि पाभार्डले गोल गरेका थिए।
उनलाई स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले असिस्ट गरेका थिए। लेवान्डोस्की अफसाइड रहेको भन्दै गोललाई मान्यता दिइएको थिएन। तर, भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा गोल मान्य भएको थियो।
बायर्नले गत सिजन जर्मन बुन्डेस्लिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको थियो। उसले यूईएफए सुपर कप र जर्मन सुपर कपपछि क्लब विश्वकप उपाधि जितेको हो।