इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुुख्य प्रशिक्षक पेप ग्वार्डियोलाले लिगको उपाधि दौडमा लिभरपुलले सिटीलाई भेट्न सक्ने बताएका छन्। उनले सिटीभन्दा १३ अंक भई तालिकाको चौथो स्थानमा रहेको लिभरपुल उपाधि दौडमा नै रहेको बताएका हुन्।
‘लिभरपुलले लेस्टरविरुद्ध जसरी खेल्यो, त्याे हिसाबमा हामीले खेल हार्नुपर्ने हुन्छ,’ पेपेले भने, ‘तर, उनीहरु गर्न सक्छन्। यो त्यही नै लिभरपुल हो जुन मैले वर्षौंदेखि देखिरहेको छु।’
‘मैदानमा उनीहरु पहिलेजस्तो उत्कृष्ट छैनन् तर, र पनि उनीहरुको खेल हेर्नलायक छ,’ उनले भने। शनिबार भएको खेलमा सिटीले टोटनह्यामलाई ३–० पराजित गर्दा लिभरपुल लेस्टर सिटीसँग ३–१ गोलले स्तब्ध भएको थियो।
लिभरपुल क्रिसमसको दिनसम्म अंक तालिकाको शीर्षस्थानमा थियो। त्यसपछिको १० खेलमध्ये २ खेलमा मात्र उसले जीत निकालेको छ भने ५ खेलमा हार र ३ खेलमा बराबरी गरेको छ। पछिल्लो खेलमा लिभरपुलले गरेको प्रदर्शनले उसलाई उपाधि दाबेदार भन्न नसकिने फुटबल विश्लेषक बताउँछन्।