राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोलले हराएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जीत दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन्। विमला चौधरीले दुई गोल गरिन्। चन्द्रपुरकी रजनी थोकरले एक गोल गरिन्।
आर्मीले खेलको १० औं मिनेटमा नै अग्रता बनाएको थियो। उसका लागि रश्मीले गोल गरेकी थिइन्। २२ औं मिनेटमा रश्मीले आर्मीको अग्रता दोब्बर बनाइन्। खेलको २३ औं मिनेटमा विमलाले गोल गरेपछि आर्मीले ३–० को अग्रता बनायो।
पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनीले गोल गर्दै चन्द्रपुरलाई ३–१ को स्थितिमा ल्याइन्। खेलको ५० औं मिनेटमा रश्मीले पेनाल्टीबाट ह्याट्रिक पुरा गरिन्।
त्यसैगरी खेलको ५६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५–१ को अग्रता बनायो। त्यसपछि खेलको ६१ औं मिनेटमा रश्मीले व्यक्तिगत चौथो गोल गर्दा आर्मीले ६–१ को जित पक्का गर्याे।
जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ। आर्मी लिगको दोस्रो स्थानमा रहेको छ। एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।