युईएफ च्याम्पियन्स लिग फुटबल युरोपका क्लबहरुबीच हुने सबैभन्दा उत्कृष्ट प्रतिस्पर्धात्मक प्रतियोगिता मानिन्छ। मंगलबार रातिबाट च्याम्पियन्स लिगका अन्तिम १६ का खेलहरु शुरु हुँदैछ। अन्तिम १६ का खेललाई पहिलो लेग र दोस्रो लेग गरी दुई लेगमा खेलाइन्छ र एग्रिगेटमा अगाडि रहेको टोलीले अन्तिम ८ मा स्थान बनाउनेछ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका टिमहरुबीचको खेल आफैंमा प्रतिस्पर्धात्मक र रोचक त हुन्छ नै। तर, तीमध्ये पनि उपाधि दाबेदार टोलीहरुबीच हुने खेल झनै रोमाञ्चक हुने आँकलन गर्न सकिन्छ। च्याम्पियन्स लिगको अन्तिम १६ को ८ खेलमध्ये ३ खेललाई धेरैले चासोका साथ हेरिरहेका छन्। ती खेलहरुबारे चर्चा गरौं।
आरबी लेइपजीग भर्सेस लिभरपुल
बुन्डेसलिगा क्लब आरबी लेइपजीग र इंग्लिस क्लब लिभरपुलबीचको खेल च्याम्पियन्स लिगको अन्तिम १६ मा हेर्नलायक खेल हो। आरबी लेइपजीग गत सिजनको च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुगेको थियो। २०१९ को च्याम्पियन्स लिग विजेता लिभरपुल भने अन्तिम १६ बाटै बाहिरिएको थियो।
यस सिजन दुबै टोलीले घरेलु लिगमा राम्रो प्रदर्शन गरिरहेका छन्। आरबी लेइपजीग २१ खेलबमा १३ जीत, ५ बराबरी र ३ हारबाट ४४ अंक बटुल्दै बुन्डेसलिगाको दोस्रो स्थानमा छ। लिभरपुल २४ खेलमा ११ जीत, ७ बराबरी र ६ हारबाट ४० अंक बटुल्दै इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा छ।
यी दुई टोलीबीचको अन्तिम १६ को पहिलो लेग मंगलबार राति १ः४५ बजे हुनेछ।
बार्सिलोना भर्सेस पीएसजी
स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिगको उपाधि दाबेदारी टोली हुन्। यी दुई टोलीको भेट अन्तिम १६ मै हुनुले धेरै फुटबलप्रेमीहरु चकित भएका थिए। पीएजसी गत सिजनको च्याम्पियन्स लिगको उपविजेता हो। बार्सिलोना गत सिजन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै अन्तिम ८ बाट बाहिरिएको थियो। यस सिजन घरेलु लिगमा दुबै टोलीको प्रदर्शन राम्रो छ। पीएसजी फ्रेच्न लिग वानको शीर्षस्थानमा छ भने बार्सिलोना ला लिगाको दोस्रो स्थानमा छ। दुई टोलीबीचको खेल नेपाली समयअनुसार मंगलबार राति १ः४५ बजे हुनेछ।
एथ्लेटिको मड्रिड भर्सेस चेल्सी
स्पेनिस क्लब एथ्लेटिको मड्रिड र इंग्लिस क्लब चेल्सीबीचको खेल पनि च्याम्पियन्स लिगमा हेर्नलायक खेल हो। एथ्लेटिको मड्रिड हाल ला लिगाको मुख्य उपाधि दाबेदार टोली हो। ला लिगाको शीर्षस्थानमा रहेको एथ्लेटिको खेल उत्कृष्ट रहेको छ। त्यसैले एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगको उपाधि दाबेदारमध्येको एक टोली हो।
त्यस्तै, चेल्सी इंग्लिस प्रिमियर लिगको पाँचौ स्थानमा छ। चेल्सी गत सिजनको च्याम्पियन्स लिगमा समूह चरणबाटै बाहिरिएको थियो। चेल्सीले यस सिजन मध्यम प्रदर्शन गरिरहेको छ। त्यसकारण चेल्सी र एथ्लेटिको मड्रिडबीचको खेल पनि प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ। याे खेल फागुन ११ गते मंगलबार राति १ः४५ बजे हुनेछ।