नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चुनाव चिन्ह प्रचण्ड–नेपाल समूहलाई दिने कि ओली समूहलाई दिने छिटो निर्णय गर्न निर्वाचन आयनेगलाई आग्रह गरेको छ। भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले सूर्य चुनाव चिन्ह एउटै भएकोले दुई समूहमा विभाजित नेकपालाई सूर्यबाहेक अरू चिन्ह दिएर विवाद छिटै समाधान गर्न आयोगलाई सझाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेर वैशाखमा निर्वाचन घोषणा गरेका छन्। तर यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ। सूर्य चिन्ह एउटा र नेकपाभित्र दुइटा समूह भएकोले सूर्य चिन्ह बाँड्न नमिल्ने देउवाको भनाई छ।
सभापति देउवाले नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गरे। आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उनको आशंका छ।
निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने उनले बताए। निर्वाचन आयोगले जनतालाई ६ महिनाभित्र चुनाव हुने बताउनु पर्ने देउवाको भनाई थियो।