नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन्।
चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुगमनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन्।
प्रचण्डले केही समयभित्रै संयुक्त आन्दोलनमा दलहरू जाने बताए। प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताए।
संविधानलाई ट्रयाकमा ल्याउन आन्दोलन गर्नुपरेको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई उनले असंवैधानिक बताउदै आएका छन्। संसद् विघटनको विरोधमा केपी ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको अध्यक्ष प्रचण्डले दाबी गरे।
अवैधानिक चुनाव नगर्न उनले आग्रह गरेका छन्। प्रतिनिधि सभा पुनस्र्थापना हुने विश्वास प्रचण्डले व्यक्त गरे।