स्पेनिक क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले नेयमार, मेसी र रोनाल्डोजस्ता खेलाडीका कारण फुटबलमा मनोरञ्जन लिन पाएको बताएका छन्। च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगमा पीएसजीविरुद्ध खेल्नुअघि कोएम्यानले यी खेलाडीको सुरक्षाका लागि विशेष ध्यान दिइनुपर्ने बताएका हुन्।
‘खेलाडीलाई रेफ्रीले केहि सुरक्षा दिनुपर्छ। हामीले नेयमार, मेसी ररोनाल्डोजस्ता खेलाडीका कारण फुटबलमा मनोरञ्जन लिन पाएका छौं,’ उनले भने, ‘खेलमा एक अर्कासँग भिड्नुपर्छ तर, रेफ्रीले यी खेलाडीहरुको लागि विशेष ध्यान दिन जरुरी छ।’
उनले बार्सिलोनाविरुद्ध पीएसजीका फरवार्ड नेयमार जुनियर मैदानमा उपलब्ध नहुने कुराले दुखित तुल्याएको बताएका छन्। कोएम्यानले पीएसजी उपाधि दाबेदार टोली भएकोले खेल मुश्किल हुने जानकारी दिए। बार्सिलोना र पीएसजीबीचको प्रि–क्वाटरफाइनलको पहिलो लेग मंगलबार राति १ः४५ बजे शुरु हुनेछ।