नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षीय गुटसँग संयुक्त आन्दोलन हुन नसक्ने प्रष्ट पारेका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले नेकपाको केपी ओलीले नेतृत्व गरेको एउटा गुट सरकारमा र प्रचण्डले नेतृत्व गरेको अर्को गुट सडकमा रहेकाले संयुक्त आन्दोलन गर्न नसकिने प्रष्ट पारेका छन्।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर हामीले पुस ५ गते नै निर्णय गरिसकेका छौं, र विज्ञप्ति जारी गरेका छौं, प्रचण्ड र माधव नेपालहरूले अपील गरिरहनुभएको छ, शर्माले भने, ‘तर, हामी संयुक्त आन्दोलन गरिरहेका छैनौं, किनभने उहाँहरू नेकपा नै हुनुहुन्छ, एउटा सरकारमा छ, एउटा सडकमा छ, एउटा समूहले सरकार चलाइरहेको छ, नेकपाको अर्को गुटसँग आन्दोलनमा जान सक्दैनौं, संयुक्त हुनका लागि पूर्वशर्त जरुरी छ।’
शर्माले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई सरकारले पक्राउ गर्दा नेपाली कांग्रेसका तर्फबाट आफूले प्रेस विज्ञप्ति निकालेर विरोध गरेको उल्लेख गरे। ‘तर, नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडललाई तनहुँमा गिरफ्तार गरिँदा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ कहाँ हुनुहुन्थ्यो?,’ उनले प्रष्ट गरे।
‘सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बेला प्रचण्ड–नेपाल बोल्नुभयो कि भएन? डा. गोविन्द केसीको माग उल्ट्याउँदै विधेयक पारित गर्न संसदमा मार्सल लगाएर पास गर्दा उहाँहरू हुनुहुन्थ्यो कि थिएन? सरकारले गुठीको जग्गा कब्जा गर्न थालेको बेला गुठी विधेयकको विरुद्धमा हामी बोल्दा प्रचण्ड र माधव नेपाल उभिनुभएको थियो कि थिएन ? यो बेलामा संयुक्त आन्दोलनमा जाने भन्दै गर्दा आत्मआलोचित हुनुपर्यो,’ प्रवक्ता शर्माले भने।