मंगलबार रातिबाट युईएफ च्याम्पियन लिगका प्रि–क्वाटरफाइनलका खेलहरु शुरु हुँदैछ। मंगलबार राति बार्सिलोनाले पीएसजीको सामना गर्दैछ भने आरबी लेइपजिग र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। दुबै खेल नेपाली समयअनुसार राति १ः४५ बजे शुरु हुनेछ।
च्याम्पियन्स लिगका समूह चरणमा केहि खेलहरु नाटकीयरुपमा सकिएका थिए। जारी सिजन म्यानचेस्टर युनाइटेडले नकआउट चरणमा स्थान बनाउन नसक्दा एकै शहरका दुई क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिड अन्तिम १६ मा प्रवेश गरेका थिए।
च्याम्पियन्स लिग फर्किएसँगै फुटबल जगत तातिइसकेको छ। युरोपियन क्लब फुटलबको सबैभन्दा ठूलो प्रतिस्पर्धा च्याम्पियन्स लिगको सिजन २०२०–२१ को उपाधि कसले जित्ला भन्ने अड्कलबाजीहरु शुरु हुन थालेका छन्।
च्याम्पियन्स लिगको साविक विजेता बार्यन म्युनिखको प्रदर्शन यस सिजन पनि उत्कृष्ट रहेको छ। समूह चरणमा ५ खेलमा जित र एक खेलमा बराबरी गरेको बार्यन उत्कृष्ट लयमा छ। त्यस्तै, सिजन २०१८–१९ को विजेता लिभरपुल र क्रिस्टियानो रोनाल्डो प्रेरित जुभेन्टस पनि च्याम्पियन्स लिगको जारी सिजनको उपाधि दाबेदारी हुन्।
त्यस्तै, युरोपियन क्लब फुटबलको सर्वाधिक सफल टिम रियल मड्रिड उपाधि दाबेदार टिम हो। रियलले पछिल्लो पटक २०१७–१८ उपाध जितेको थियो। युवा खेलाडीको राम्रो जमात रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिगको उपाधिको तीव्र प्रतिक्षामा रहेको छ। गत सिजनको उपविजेता पीएसजी पहिलो पटक उपाधि जित्ने दाउमा छ। तर, स्टार खेलाडीले चोटले पीएसजीलाई चिन्तित बनाएको छ।
जारी सिजनको च्याम्पियन्स लिगको च्याम्पियन कुन टिम बन्ला भनेर अहिले अनुमान गर्न असम्भव छ। यद्यपी, तथ्यहरु र सर्वेक्षणका आधारमा च्याम्पियन्स लिगको सम्भावित उपाधि दाबेदारबारे चर्चा गर्न सकिन्छ। फाइभथर्टीएट डट कमले कुन टोलीले च्याम्पियन्स लिगको उपाधि जित्ने सम्भावना कति छ भनेर एक तथ्याङ्क सार्वजनिक गरेको छ। त्यही तथ्याङ्कमा आधारमा यहाँ हामी च्याम्पियन्स लिग जीत्ने सम्भावना कुन टोलीको कति छ भनेर चर्चा गर्दैछौं।
फाइभथर्टीएट डट कमले विभिन्न तथ्यहरुको संकलनबाट च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका टिमहरुले उपाधि जीत्ने सम्भावना कति रहेको छ भनी प्रतिशतमा हिसाब गरेको छ।
फाइभथर्टीएट डट कमको प्रतिवेदन अनुसार यस सिजनको च्याम्पियन्स लिगको उपाधिको मुख्य दाबेदार म्यानचेसटर सिटी रहेको छ सिटीले उपाधि जीत्ने सम्भावना ३७ प्रतिशत छ जुन अन्तिम १६ मा पुगेका टिममध्येको सर्वाधिक धेरै हो। त्यस्तै, बार्सिलोनाले उपाधि जित्ने सम्भावना १३ प्रतिशत रहेको छ भने बायर्न म्युनिखले उपाधि जीत्ने सम्भावना ११ प्रतिशत छ।
यसैगरी, लिभरपुलको ७, रियल मड्रिडको ६, चेल्सीको ५, जुभेन्टसको ५, एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड, आरबी लेपजिगको समान ३ प्रतिशत छ। पीएसजी, सेभिल्ला, एटलान्टाको समान २ प्रतिशत रहँदा बोरुसिया मोन्चेन्ग्लाबाच, पोर्टो र लाजियोको उपाधि जित्ने सम्भावना एक प्रतिशतभन्दा पनि कम रहेको छ।
फाइभथर्टीएटको सर्वेक्षणले म्यानस्चेस्टर सिटीको उपाधि यात्रा बलियो देखाएको छ। अघिल्लो वर्ष लायोनसँग पराजित हुँदै उपाधि यात्रामा अघि बढ्न नसकेको सिटीले यस सिजनको प्रि–क्वाटरफाइनलमा बोरुसिया मोन्चेन्ग्लाबाचको सामना गर्नेछ।
सर्वेक्षण अनुसार च्याम्पियन्स लिग २०२०–२१ को उपाधिमा म्यानचेस्टर सिटीसँगै बार्सिलोना, बायर्न म्युनिख र लिभरपुलको मुख्य दाबेदारी रहने छ। (एजेन्सीको सहयोगमा)