बैतडीमा १७ वर्षिया किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका युवकले बलात्कार नगरेको बयान दिएका छन्।घटनाको १३औँ दिनमा पक्राउ परेका दोगडाकेदार गाउँपालिका ७ का दिनेश भट्टले आफूले हत्या गरेको तर बलात्कार भने नगरेको बताएका हुन्।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–११ मा पढ्ने दिनेश भागरथीका भाई हुन्। पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ। घटनाको भएको दिन ती युवक विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ। दुई परिवारबीच लामो समयदेखि रहेको विवादका कारण प्रतिशोध साँध्न हत्या गरेको भट्टले बयान दिएका छन्।
दिनेश भागरथीको हत्याकै लागि २ बजेर ३० मिनेटमा विद्यालयबाट निस्किएको अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्। दिनेशको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्। सुरुमा मैले उनको किताब फालेँ। त्यसपछि उनलाई पछाडिबाट धकेलेँ। उनी लडेर बेहोस भएपछि घाँटी थिचेर मारेँ, त्यसपछि मोबाइलको ब्याट्री निकालेर फ्याकेँ।’
अभियुक्त दिनेशलाई आज ११ बजे प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ। कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि उनको खोजी शुरु भएको थियो। त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा क्षतविक्षत अवस्थामा भेटिएको थियो।
शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो। भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले। त्यही प्रदर्शनको अग्रपङ्तिमा दिनेश पनि सहभागी थिए।