युइएफ च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल खेलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)सँग पराजित भयो। मंगलबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरमा पिएसजीसँग ४–१ गोलको लज्जास्पद हार बेहोर्याे।
उपाधि दाबेदार मानिएको बार्सिलोनाले घरेलु मैदानमा पिएसजीसँग गरेको प्रदर्शन र बेहोरेको हारले टोली अन्तिम १६ बाटै बाहिरिने खतरा बढेकाे छ। बार्सिलोनाले उपाधि यात्रामा अघि बढ्नको लागि पिएसजीलाई उसैको घरमा कम्तिमा ४ गोलको अन्तरले पराजित गर्नुपर्नेछ। स्टार खेलाडी नेयमार जुनियर र डि मारियाबिनै मैदान उत्रिएको पिएसजीसँग स्तब्ध बनेको बार्सिलोनालाई दोस्रो लेगमा उक्त किसिमको नतिजा निकाल्न कठिन छ।
तर, फुटबलमा असम्भव भन्ने केहि छैन। च्याम्पियन्स लिगकै इतिहासलाई हेर्ने हो भने पनि दोस्रो लेगमा उत्कृष्ट ‘कमब्याक’ भएका घटनाहरु छन्। कमब्याकको लागि टोलीको प्रदर्शन असामान्य हुन जरुरी छ। घरेलु लिग ला लिगामा उपाधि दौडबाट टाढिएको बार्सिलोनाको प्रदर्शन गत सिजनजस्तै यस सिजन पनि निराशाजनक छ। तर, इतिहासलाई हेर्ने हो भने बार्सिलोना कमजोर टिम पक्कै होइन।
समयले फेरि बार्सिलोनालाई पिएसजीसँग इतिहास दोहोराउनुपर्ने बाध्यात्मक स्थितिमा ल्याइदिएको छ। यहाँ सन्दर्भ जोडौं च्याम्पियन्स लिग सिजन २०१६–१७ को। यस सिजनको जस्तै उक्त सिजन पनि बार्सिलोना र पिएसजीको भेट अन्तिम १६ मा नै भएको थियो। अन्तिम १६ को पहिलो लेग सन् २०१७ को फेब्रुअरी १५ मा पिएसजीको घरेलु मैदानमा भएको थियो। उक्त खेलमा बार्सिलोना पिएसजीसँग ४–० गोलले पराजित भएको थियो। यससँगै धेरैले बार्सिलोनाको त्यस सिजनको च्याम्पियन्स लिग यात्रा समाप्त भएको टिप्पणी गरेका थिए।
तर, खेलको दोस्रो लेग त बाँकि नै थियो। प्रि–क्वाटरफाइनलको दोस्रो लेग सोही वर्षको मार्च ९ मा बार्सिलोनाको घरेलु मैदानमा भएको थियो। उक्त खेलमा बार्सिलोनाले असामान्य प्रदर्शन गर्दै पिएसजीलाई ६–१ को अन्तरले पराजित गर्याे। त्यस नतिजासँगै एग्रिगेटमा ६–५ गोलको जीत निकाल्दै बार्सिलोना अन्तिम ८ मा प्रवेश गरेको थियो।
यस सिजन बार्सिलोना र पिएसजीबीचको दोस्रो लेग मार्च ११ मा हुँदैछ। पिएसजीको घरेलु मैदानमा हुने उक्त खेलमा बार्सिलोनालाई यसपटक फेरि इतिहासलाई दोहाेर्याउनुपर्ने बाध्यता छ। खराब अवस्थाबाट गुज्रिरहेको बार्सिलोनाको लागि उक्त कमब्याक सहज त पक्कै छैन तर, असम्भव पनि छैन।