अमेरिकामा एक आश्चर्यजनक घटना भएको छ। अमेरिकाको सिटीबैंकले झुक्किएर सयौं व्यक्तिको खातामा अरबौं रुपैयाँ रकम पठाएको थियो। यसलाई अमेरिकी अधिकारीहरुले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो गल्ती भनेर टिप्पणी गरेका छन्।
उक्त बैंकले झुक्किएर ५०० मिलियन डलर (५८ अर्ब नेपाली रुपैयाँ) विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरेको थियो। सिटीबैंकले रेभ्लोन नामक सौन्दर्य प्रसाधन उत्पादक कम्पनीको ऋण एजेन्टको रुपमा काम गरिरहेको थियो। बैंकले रेभ्लोन कम्पनीलाई ऋण दिएका व्यक्तिहरुको खातामा ब्याजवापत ८ मिलियन डलर (९३ करोड रुपैयाँ) पठाउनुपर्ने थियो। तर, बैंकले झुक्किएर कूल ९०० मिलियन डलर (१ खर्ब ५ अर्ब रुपैयाँ) रेभ्लोनका ऋणदाताहरुको खातामा पठायो।
समाचार एजेन्सका अनुसार केही ऋणदाताहरुले झुक्किएर आएको रकम फिर्ता पनि गरे तर, केहीले फिर्ता अस्वीकार गरे। त्यसपछि अदालतमा मुद्धा चलेको थियो। गत अगष्ट महिनामा सिटीबैंकले आफूले पैसा फिर्ता पाउनुपर्ने दावीसहित अदालतमा मुद्दा हाल्यो। कानुनले झुक्किएर आएको पैसा फिर्ता हुनुपर्ने व्यवस्था गरेको छ।
तर, न्यूयोर्कको कानुनमा जुन व्यक्तिको खातामा पैसा आएको छ, पैसामा सोही व्यक्तिको हक हुनेछ। र, सो व्यक्तिले उक्त रकम खर्च गर्न पाउनेछ। रेभ्लोनका ऋणदाताहरुले यही कानुनको प्रयोगबाट पैसा फिर्ता दिनु नपर्ने दाबी गरे। रेभ्लोनलाई दिएको ऋण फिर्ता त हुने ने थियो। तर, त्यो पैसा केही समयपछि फिर्ता हुनुपर्ने थियो। बैंकले त उनीहरुलाई ब्याज मात्र पठाउन खोजेको थियो।
ऋणदाताहरुले भने आफूहरुलाई बैंकले प्रिपेमेन्ट गरेको (समय अगावै ऋण तिरेको) जस्तो लागेको बताए। बैंकबाट झुक्किएर आएको रकम त्यति नै थियो जति रेभ्लोनले उनीहरुसँग ऋण लिएको थियो।