भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ। सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्राय:स्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ।
यहाँ कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८ सय ८१ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९ लाख ५० हजार २०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १०१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार १४ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ५६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा एक लाख ३७ हजार ३ सय ४२ जना सक्रिय संख्यामित रहेका छन्।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार १ सय ३४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको छ। यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २० करोड ८७ लाख ३ हजारको हाराहारीमा नमुना परीक्षण गरेको छ। बुधबार एकै दिनमा मात्र सात लाख २६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ।