भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ। सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ।
यहाँ कोरोना भाइरस संक्रमितको संख्या बिहीबारसम्म एक करोड ९ लाख ६३ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार १९३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९ लाख ६३ हजार ३९४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ।
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार १११ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ६७ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ।
हाल भारतमा एक लाख ३९ हजार ५४२ जना सक्रिय संक्रमित रहेका छन्। भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको छ। बिहीबार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ। यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २० करोड ९४ लाख ४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। बिहीबार एकै दिनमा मात्र सात लाख ७१ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ।