धनुषामा पैसाका लागि एक पुरुषले आफ्नै छोराको अपहरण गरेका छन्। धनुषाको नगइराइन नगरपालिका–६ निवासी रमेश दासले पैसाको लागि आफ्ना ७ वर्षीय छोराको अपहरण गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनले आफ्ना सालाहरु अर्थात् बालकको मामाहरुको सहयोग लिएर छोराको अपहरण गरेको र घरमा एक करोड रुपैयाँ फिरौती मागेका हुन्। अपहरण गरिएका बालकलाई सात घण्टापछि सकुशल उद्धार गरेपछि सम्पत्तिका लागि बाबुले छोराको अपहरण गरेकाे खबर सार्वजनिक भएकाे हाे।
रमेशले आफ्ना बुबा हरिचनसँग रकम एक करोड असुल्न आफ्नै छोरा अपहरण गरेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिएका छन्। अपहरण आरोपमा बालकका बुबा रमेश र दुई मामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिआइजी सिंहले बताए।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा खटेको टोलीले बालकको सकुशल उद्धार गरेको थियाे। शनिबार दिउँसो १ बजेबाट घरबाटै अपहरणमा परेका बालकलाई राति ८ बजे जनकपुरस्थित माछा बजारबाट सकुशल उद्धार गरिएको थियो। अपराह्न ४ बजे बालकको घरमा एक करोड फिरौती लिएर आऊ नत्र बालकलाई मारिदिन्छु भनेर धम्की आएको बालककाे पारिवारीक स्राेतले जानकारी दिएकाे छ।