नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई धम्की दिएको बताएका छन्। उनले संसद् पुनः स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्चलाई ओलीले विराटनगरबाट धम्की दिएको बताएका हुन्।
मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले यसअघि पनि ओलीले सूर्य चिह्न दे भनेर निर्वाचन आयोगलाई धम्की दिएको बताए। ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो,’ उनले भने।
नेता कोइरालाले सर्वोच्चले कुन धारा टेकेर असंवैधानिक संसद् विघटनलाई सदर गर्दो रहेछ भनेर तीन करोड जनताले नियालीरहेको पनि जानकारी दिए। कार्यक्रममा उनले संसद् पुनःस्थापनको विकल्प नरहेको पनि प्रष्ट पारे।