काठमाडौँ, ५ फागुन – नेपाल पर्वतारोहण संघले गुरु योजनाविनै ४१४ ओटा शिखरको प्रोफाइल तयार पार्न आर्थिक वर्ष २०७३-७४ र २०७४-७५ मा ४० लाख रुपैयाँ खर्च गरिसकेको छ। हालसम्म ७० प्रतिशत काम सकिएको दाबी संघले गरे पनि प्रगति विवरण पर्यटन विभागमा बुझाएको छैन्।
सोही कारण संघको कार्यप्रगति सन्तोषजनक नभएको बताउँदै विभागले चालू आव २०७५-७६ का लागि विनियोजित ५० लाख रुपैयाँ रोक्का गरेको छ। ‘पिक प्रोफाइल’ तयार पार्न विभागले आव २०७३-७४ देखि संघलाई बजेट उपलब्ध गराउँदै आएको छ। गत चैतमा सार्वजनिक भएको ‘महालेखापरीक्षकको ५५ औं वार्षिक प्रतिवेदन २०७४’ ले पनि उक्त काममा भएको खर्चको विश्वसनीयता यकिन गर्न नसकिएको उल्लेख गरेको छ।
प्रतिवेदनले आव २०७३-७४ मा २० लाख रुपैयाँ बेरुजू देखाएपछि अहिले विभागले चालू आवको बजेट निकासा दिएको छैन्।
विभागका महानिर्देशक डण्डुराज घिमिरेले ‘पिक प्रोफाइल’को काम प्रभावकारी नबनाएसम्म चालू आवको बजेट नदिइने बताए। महालेखाको प्रतिवेदन अनुसार उक्त कामका लागि गुरु योजना तयार नगरी सहकार्यमा काम गर्दा लागत अनुमान, कार्यादेश, कुल लागतमध्ये कुन पक्षले कति र कसरी लागत बेहोर्ने भन्ने स्पष्ट आधार पनि देखिएको छैन। यो समाचार अभियान दैनिकमा छ।