प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुने कार्यक्रम छ। आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक हालसम्म शुरु भएको छैन।
नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका सांसदहरुको अनुपस्थितिका कारण प्रदेशसभा बैठक सुचारु हुन नसकेको हो। आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो।
तर, ओली समूहका सांसद नआएका कारण बैठक सुरु हुन नसकेको हो। यसअघि नै मुख्यमन्त्री राईले हाल अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने बताएका थिए। मुख्यमन्त्री राईले सूचना टाँसेर नै प्रदेशसभा बैठक नै स्थगित भएको बताएका थिए तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक बस्नुपर्ने जानकारी दिएका थिए।