प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै एक नेपाल कम्युनिष्ट पार्टी दुई भागमा विभाजित भयो ओली समूह र प्रचण्ड नेपाल समूहमा। त्यही विभाजित भागको एक पक्ष सम्हालिरहेका पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षबीच नयाँ सहमति भएको छ।
संगठन व्यवस्थापनका लागि नयाँ सहमति गरिएको प्रचण्ड–नेपाल पक्षका एक नेताले जानकारी दिए। ती नेताकाअनुसार पार्टीको सबै तह र जनवर्गिय संगठनको व्यवस्थापनमा ५०–५० प्रतिशतको आधार बनाइएको छ। केही समयअघि प्रचण्डले केपी ओलीसँगको सहमतिमा ५५/४५ मा कार्यकर्ता व्यवस्थापन गरेका थिए।
नयाँ सहमतिअनुसार प्रदेश र जिल्लाका इन्जार्च, सहइन्चार्ज, सबै पार्टी कमिटी तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो, त्यहि पक्षबाट पूर्ती हुने एवं पदाधिकारीको छनौटमा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख गरिएको छ।
त्यसैगरी विशेष परिस्थितिमा विशेष निर्णय बाहेक पार्टी कमिटी तथा जवसहरुमा बरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने, साविक घटकको प्रतिनिधित्व सुनिश्चित गराउने, महिला तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने, स्थानीय कमिटीहरुको फेरबदल प्रदेश कमिटीलाई दिने भनिएको छ।
तर, पार्टी केन्द्रीय कमिटि, केन्द्रीय निकाय तथा जवसहरुको केन्द्रीय समिति बाहेक अन्य तहको निर्णय प्रदेश कमिटिले गर्ने, जनवर्गिय संगठनमा विधान अनुरुप सदस्यको मनोनय गर्ने तथा अपुग भएमा केन्द्रमा सुझाव पठाउने, जिम्मेवारी औचित्यपूर्ण हुनुपर्ने र पार्टीपंक्ति उत्साहित बनाउने निर्णय गरिनुपर्ने लगायतका मापदण्ड र आधारको अवलम्बन गरी रिक्त स्थानको पदपूर्ति गर्ने नयाँ सहमतिमा उल्लेख गरिएको छ।