प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विप्लव समूहसँग वार्ता गर्छ भन्दा केही तत्त्वलाई टाउको दुखेको बताएका छन्। चन्द्रागिरिको दहचोक–१ मा पाँचौं इन्द्रदह पर्यटन उत्सवको उद्घाटन समारोहमा बोल्दै उनले विप्लव समूहले वार्तामा आउँछु भन्दा कतिपयलाई छटपटी भएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीले सीके राउत मुलधारको राजनीतिमा आउँछु भनिसकेको र अब अब विप्लवले वार्ता गर्छु भन्दै गर्दा केही मान्छेलाई असह्य भएको बताए। उनले देश साँच्चै हरेक हिसाबले अघि बढ्छ कि क्या हो भनेर केही तत्त्वहरु आत्तिएको पनि जानकारी दिए।
कतिपयले विप्लवलाई प्रयोग गरौंला भन्ने सोचेको तर, वार्ताबाट समाधान हुने देखेपछि उनीहरुमा आतंक छाएको उनकाे तर्क छ। बैशाखमा चुनाव हुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे।