प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना एक प्रतिशत पनि नरहेको दाबी गरेका छन्। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकमा बोल्दै उनले संसद् पुनःस्थापनाले देशका अस्थिरता आउनेमा सर्वोच्च अदालत सचेत रहेको बताए।
संसद् पुनःस्थापना भए पनि कहिले यता कहिले उता लाग्ने प्रचण्ड–नेपाल अर्कै प्रधानमन्त्री खोज्नमा लाग्ने प्रधानमन्त्री ओलीको तर्क थियो। ‘उहाँहरुले लडाईं जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो। खोज्दै हिँड्दा अन्तिममा म कहाँ आइपुग्न बेर छैन,’ उनले भने।
कार्यक्रममा ओलीले प्रचण्ड–नेपाल बहुमत भएको पार्टी फुटाउने, आफ्नै प्रधानमन्त्री हटाउने र अर्को प्रधानमन्त्री खोज्दै हिँड्ने खेलमा लागेको बताए। प्रधानमन्त्रीले तोकिएको समयमा नै निर्वाचन हुने ठोकुवा पनि गरेका छन्। निर्वाचनको तयारीमा लाग्न उनले सबैलाई आग्रह गरेका छन्।