नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गरेको बताएका छन्। संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीके निर्णय बदर भएसँगै नेता थापाले अदालतप्रतिको जनविश्वास बढेको जानकारी दिएका छन्।
‘संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ,’ नेता थापाले ट्विटरमा लेखेका छन्, ‘अदालतले बिना भय र दबाब, विवेकसम्मतरुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’
मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर हुने फैसला सुनाएको थियाे।
सर्वोच्चको फैसलामा १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्।