अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आइटिएफ)ले नेपाल तेक्वान्दो महासंघ(एनटीएफ)लाई सदस्यता प्रदान गरेको छ। आइटिएफले एनटीएफको सदस्य आवेदन स्वीकृत गरेको हो। फेबु्रअरी २१ मा बसेको आइटिएफ हेडक्वाटरको कार्यसमिति बैठकले एनटीएफ बनाउने निर्णय गरेको महासचिव सुदिपचन्द्र बख्रेलले जानकारी दिएका छन्।
आइटिएफ हेडक्वाटरले एनटीएफका अध्यक्ष दिनेश शर्मालाई इमेलमार्फत् आधिकारीक पत्र पनि पठाएको महासचिव ब्रखेलले बताएका छन्। ‘आइटिएफको सदस्यतासँगै नेपाल तेक्वान्दो महासंघको जिम्मेवारी झनै बढेको छ,’ बख्रेलले भने, ‘एनटीएफले विश्वका विभिन्न तेक्वान्दो संस्थासँग सम्बन्धन लिएर नेपालमा तेक्वान्दोको विकास र विस्तारमा ध्यान केन्द्रित गरेको छ।’
त्यस्तै, एनटीएफका अध्यक्ष दिनेश शर्माले आइटिएफले महासंघलाई सदस्यता दिएसँगै तेक्वान्दोलाई देशव्यापी रुपमा विकास र विस्तारका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारसँग समन्वय र सहकार्य गर्ने जानकारी दिएका छन्। ‘आइटीएफ सदस्यता पाउनु नेपाली तेक्वान्दोका लागि खुशीको कुरा हो,’ शर्माले भने, ‘नेपालमा तेक्वान्दोको विकासका लागि सबैसँग समन्वय गरेर अघि बढ्नेछौं।’
नेपाल तेक्वान्दो महासंघले विश्व सङ्मोक्वान संघ(अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय(बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन(आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ(स्पेन) र विश्व तेक्वान्दो परिषद्(जर्मनी) सँग सहकार्य गरिरहेको छ।
त्यसैगरी महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङ्होन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङ्मोक्वान संघ र साङ्रोक नेपाल तेक्वान्दो एकेडेमी लगायतका तेक्वान्दो संघहरु आबद्ध छन्।