नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका नेता महेश बस्नेतले अब नेकपालाई एक बनाउनुपर्ने बताएका छन्। देशमा राजनीतिक अस्थिरता बढ्ने खतरा भएकाले अब नेकपा मिल्नुपर्ने उनले जानकारी दिएका छन्।
‘मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो,’ उनले भने, ‘नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो।’ ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जोगाउनुपर्छ,’ नेता बस्नेतले थपे,‘वामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो होला अब त।’
उनले अब नेताहरुले सोचेर निर्णय गर्नुपर्ने बेला भएको पनि जानकारी दिए। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेसँगै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको हातमा राजनीतिक खेल भएको उनको तर्क छ। त्यसकारण अब पार्टीलाई एकढिक्का बनाउनुपर्ने नेता बस्नेतले बताए।