नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको अवस्था जटिल रहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका हुन्।
जोशीलाई बिहीबार राति नै मस्तिष्कघात भएपछि वीर अस्पताल लगिएको थियो। अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए। सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि उनलाई वीरबाट नर्भिक अस्पताल रिफर गरिएको थियो।
नेता जोशीलाई सास फोर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको डाक्टरले बताएका छन्। सिटी स्क्यान गर्दा रगत दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा पुगेर ब्लक गरेको पाइएको छ। सुगर, प्रेसर लगायतका रोगबाट समेत पीडित उनले रगत पातलो बनाउने औषधि खाइरहेका थिए।