नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था निकै जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। मस्तिष्काघात भएपछि नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको मस्तिष्कबाट रगत झिके पनि स्वास्थ्य अवस्था अझै जटिल रहेको चिकित्सकले बताएका हुन्।
नर्भिक अस्पतालका उपनिर्देशक डा. विप्लव सापकोटाले कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था निकै जटिल रहेको जानकारी दिएका हुन्।
जोशीको मस्तिष्कमा रहेको रगत झिकेपछि रगत पास भइरहेको जानकारी दिँदै सापकोटाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए।
‘मस्तिष्कघात भएको ४८ घण्टासम्म बिरामीको होस फर्किने आशा हुन्छ,’ सापकोटाले भने। जोशीको उपचारमा न्यूरो विशेषज्ञ डा. राजीव झाको टिम खटिएको छ।
ेनेता जोशीको शल्यक्रिया शुक्रबार बिहान १० बजे गरिसकिएको थियो। अवस्था एकदमै नाजुक भएपछि जोशीलाई कोमामै राखिएको हो। ‘अवस्था निकै नाजुक छ, केही भन्न सकिन्न,’ डा. झाले भने।
जोशीको मस्तिष्कमा रहेको १ सय ३० मिलिलिटर पानी शल्यक्रिया गरेर झिकिएको छ। रगत र पानी नजमोस् भन्नका लागि पाइप लगाइएको छ।
जोशीलाई बिहीबार राति शरीरको देब्रे भागमा समस्या देखिएपछि वीर अस्पताल पुर्याइएको थियो। वीर अस्पतालबाट बिहान नर्भिक अस्पताल लगिएको हो।