उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले संसद् विघटन मुद्दामा सर्वोच्च अदालतको फैसलाप्रति असहमति प्रकट गरेका छन्। नेकपाको केपी ओली निकट अनेरास्ववियूले गरेको कार्यक्रममा पोखरेलले सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएको बताएका हुन्।
पोखरेलले लोकतन्त्र र शक्ति पृथकीकरणमा विश्वास गर्ने भएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने बताए। ‘तिमीहरूभन्दा शक्तिशाली न्यायाधीशहरू जनता हुन्, जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी, त्यसको तयारीमा छौं,’ पोखरेलले भने।
सर्वोच्चको फैसलाले मुलुक दुर्भाग्यतिर जान प्रेरित भएको पोखरेलको कथन थियो। सर्वोच्चको फैसलाकै कारण मुलुक विकास र समृद्धिमा बाधा पुग्ने पनि बताएका छन्।