नेपाली सुपरहिट फिल्म ‘कबड्डी’ को चौथो सिक्वेल निर्माण हुने भएको छ। ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, र ‘कबड्डी कबड्डी कबड्डी’ को निर्देशन गरेका रामबाबु गुरुङले फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन्।
फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गत वर्ष रिलिज भएको थियो। निर्देशक गुरुङले सार्वजनिक गरेको पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ पनि राखिएको छ। ‘कबड्डी’को कथालाई नयाँ सिक्वेलमा टुङ्गाउन खोजिएको बताइएको छ।
फिल्म ‘कबड्डी ४’मा अहिलेसम्मका शृङ्खलामा जोडिएका सबै कलाकारको उपस्थिति गराउने निर्देशकको योजना छ। ‘कबड्डी’मा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए।
दोस्रोमा निश्चलको ठाउँमा सौगात र तेस्रोमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए। फिल्मको छायाँकन २०७८ वैशाखबाट शुरु हुने बताइको छ। फिल्म भने दशैँमा प्रदर्शनमा आउनेछ।