राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्कघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छिन्।
राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए।
शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ। सल्लाहकार ढकालले जोशीका दाई, श्रीमती र छोरीलाई भेट्नाका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे बुझेका छन्।
नेता जोशीको उपचारमा संलग्न डाक्टरले शुक्रबार उनको स्थिति नाजुक रहेको बताएका थिए। बिहीबर राति मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो। सिटी स्क्यान गर्दा उनको टाउकोमा रगत जमेको देखिएपछि उनलाई नर्भिक अस्पताल रिफर गरिएको थियो।