नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिनु एउटै भएको बताएका छन्। आफ्नाे समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीलाई सुधार्न नसकिने स्पष्ट पारेका हुन्।
‘अहिले फेरि केपी ओलीलाई सुधार्न कोशिश गर्दै हुनुहुन्छ। गर्नुहोस्, तर मैले भनेको छु बालुवा पेलेर तेल निस्किँदैन,’ उनले भने। स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पहिलो व्यक्ति बामदेव गौतम नै अहिले उनलाई सुधार्ने कोशिसमा लागेको र कोशिस व्यर्थ हुने उनले बताए।
त्यस्तै अध्यक्ष नेपालले केपी ओलीसँग एकता हुने कुनै पनि सम्भावना नरहेको प्रष्ट पारेका छन्। ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस्,’ उनले भने, ‘केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन।’
‘बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् र मुर्ख बनाएर पठाइयो भन्छन्। तपाईहरु यस्ता कुराको भ्रममा नपर्नुस्,’ उनले थपे। ओलीभन्दा बरु प्रतिमगनविरुद्ध लडेका शक्तिहरुसँग सहकार्य गर्न सकिने धारणा उनले व्यक्त गरे।