प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउँदै छन्। औद्योगिक क्षेत्र शिलान्याससहितका कार्यक्रममा सहभागी हुन ओली झापा आउने भएका हुन्।
झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ। ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ।
सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो। उक्त कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन्। नेपालमा ११ वटा औद्योगिक क्षेत्र सञ्चालित छन्।
ओलीले गृहजिल्ला भ्रमणका क्रममा आफ्नो समूहका नेताहरूसँग भेटघाट र आगामी रणनीतिका सन्दर्भमा कुराकानी गर्ने तय भएको छ।