पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि लागेको अदालतको अवहेलना मुद्दाको लिखित जवाफ बोकेर सर्वोच्च अदालत पुगेका छन्। अध्यक्ष प्रचण्ड आइतबार सर्वोच्च अदालतमा उपस्थित भएर आफूले अवहेलना नगरेको जवाफ पेश गरेका हुन्।
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतलाई मानहानी हुने खालको कुनै अभिव्यक्ति नदिएको उल्लेख गरेका छन्। ‘ममाथि लगाइएको यो आरोप गलत छ भन्ने स्पिरिटमा लिखित जवाफ बुझाएर आएँ,’ प्रचण्डले भने।
प्रचण्डले केपी ओली नेतृत्वको सरकारका मान्छेले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको बताएका छन्। जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव नपर्ने प्रचण्डको धारणा छ।
‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ, यसबाट अदालतको अवहेलना हुनै सक्दैन,’ प्रचण्डले भनेका छन्।