म्यानमारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ।
सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यानमारको सबैभन्दा ठुलो सहर याङ्गुनसहित देशका सबैजसो सहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन्।
यसै महिनाको सुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्याँस र पानीका फोहोरा हान्ने गरेका छन्। जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मिततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरे पनि सेनाविरुद्धको प्रदर्शन रोकिएको छैन।
आइतबार बिहान समेत ठुलो संख्यामा मानिसहरू सडकमा उत्रिएका थिए। सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइन मार्फत आम जनतालाई आह्वान गरिएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिणी डावेई सहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन्।
उद्धारकर्ता पाई ज हेइनले सेना, प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको तथा घाइतेहरूलाई रबरको गोली लागेको बताए। उनले गोली लागेका व्यक्तिहरू अस्पतालमा ल्याउने क्रम रहेकाले घाइते वा मृतकको सङ्ख्या अरू बढ्न सक्ने जानकारी दिए।
म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो।
सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौँ नेतालाई गिरफ्तार गरेको छ। सेनाको उक्त कदमको संयुक्त राज्य अमेरिका, युरोपेली युनियन र अरू कैयौँ देशले विरोध गरेका छन्।
आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ। भिड नियन्त्रण गर्ने क्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जानकारी दिएको छ।