नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तको अभिव्यक्ति विवादमा परेको छ। नेकपा केपी ओली समूहकी नेतृ एवं राष्ट्रियसभा सदस्य कोमल वलीमाथि पन्तले गरेको टिप्पणी विवादमा तानिएको हो।
नेता पन्तले एक सार्वजनिक कार्यक्रममा कोमल वलीलाई सेतो पिँडुला देखाएर सांसद् प्राप्त गरेको आरोप लगाएका थिए। पन्त अहिले प्रचण्ड–नेपाल समूहमा छन्।
‘बिसौं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्, तर तीनले टिकट पनि पाएनन्, राष्ट्रिय सभा सदस्य पनि बन्न पाएनन्,’ पन्तले भनेका छन्, ‘कोमल वलीले यसो सारी सर्काएर गोरा पिँडुला देखाउँदै पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन्, कपाल फुलेर बुढी परेका महिला कामरेडहरू न एकचोटी राष्ट्रिय सभा सदस्य हुन्, पाएका छन्, न केन्द्रीय कमिटी सदस्य। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य पनि।’
रघुजी निकै निच रहेछन्ः वली
नेता पन्तको अभिव्यक्तिप्रति निकै दुःखीत देखिएकी वलीले नेता मानेको पन्त निकै निच रहेको प्रतिक्रिया दिएकी छिन्।
पन्तको भिडियो सामाजिक सञ्जालमा राख्दै वलीले भनेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पन्तजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरूले को–कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको शिकार हुनुपर्छ।’
नेता पन्तको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ। पन्तको समर्थन र आलोचना लगभग बराबरी देखिएको छ।