प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रहरीको नक्कली फेसबुक पेज बनाएर नेपाल प्रहरीको छवि बिगार्ने र प्रहरीले गरेको काम काजप्रति भ्रम फैलाउने र अपराधिक क्रियाकलाप गर्दै हिँडेकाले फागुन १३ मा रुपन्देशीबाट पक्राउ गरी आज सार्वजनिक गरेको जानकारी दिए।
पक्राउ परेका पोखरेललाई विद्युतीय कारोवार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभ पनि लिन खोजेको प्रहरीको भनाइ छ।