शरीर बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव तथा विराटनगर महानगरपालिका–६ रामपुर निवासी २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए।
निजहरुले विराटनगर महानगरपालिका–१८ खोक्सा निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबारदेखि बन्धक बनाएर१० लाख माग गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
अपहरणको खबर पाएलगत्तै गरिएको अनुसन्धानबाट अभियुक्तहरु पक्राउ परेको प्रवक्ता राईको भनाइ छ। प्रहरीले बन्धकमा राखेका व्यक्तिलाई दुई घण्टाभित्र विराटनगर महानगरपालिकाअन्तर्गत रामपुर बस्तीबाट सकुशल उद्धार गरेको थियो। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।