नायिक करिश्मा मानन्धरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तलाई छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्न चेतावनी दिएकी छिन्। नेकपा केपी ओली समूहकी नेतृ एवं राष्ट्रियसभा सदस्य कोमल वलीमाथि पन्तले गरेको टिप्पणीप्रति आपत्ति प्रकट गर्दै नायिका करिश्माले यस्तो चेतावनी दिएकी हुन्।
‘ठुला ठुला विचार बोक्छु भन्ने दाबी गरेका, ठुला ठुला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काे प्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा पाथ्र्यो,’ उनले फेसबुमा लेखेकी छिन्, ‘घोच पेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि हुन्थ्यो! अब त हुँदा हुँदा शब्दमा अपराधिक मानसिकता पनि देखिन थाल्यो।’
‘त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रकप्रति दया पनि लाग्यो,’ करिश्माले लेखेकी छिन्, ‘छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकि समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस्।’
नेता पन्तले एक सार्वजनिक कार्यक्रममा कोमल वलीलाई सेतो पिँडुला देखाएर सांसद् प्राप्त गरेको आरोप लगाएका थिए। पन्त अहिले प्रचण्ड–नेपाल समूहमा छन्।
‘बिसौं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्, तर तीनले टिकट पनि पाएनन्, राष्ट्रिय सभा सदस्य पनि बन्न पाएनन्,’ पन्तले भनेका छन्, ‘कोमल वलीले यसो सारी सर्काएर गोरा पिँडुला देखाउँदै पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन्, कपाल फुलेर बुढी परेका महिला कामरेडहरू न एकचोटी राष्ट्रिय सभा सदस्य हुन्, पाएका छन्, न केन्द्रीय कमिटी सदस्य। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य पनि।’
नेता पन्तको अभिव्यक्तिप्रति निकै दुःखीत देखिएकी वलीले नेता मानेको पन्त निकै निच रहेको प्रतिक्रिया दिएकी छिन्।
पन्तको भिडियो सामाजिक सञ्जालमा राख्दै वलीले भनेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पन्तजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरूले को–कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको शिकार हुनुपर्छ।’
नेता पन्तको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ। पन्तको समर्थन र आलोचना लगभग बराबरी देखिएको छ।