वैदेशिक रोजगारीमा जानेहरूलाई अवैध ढंगले ठगी गर्ने गिरोह ठूलै छ। तर, राजनीतिक संरक्षणका कारण केही अभियुक्त मात्रै कानूनी दायरामा आउँछन्।
लामो समयदेखि वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका एक मेनपावर व्यवसायी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नवलपरासी देवचुली गाउँपालिका–१३ का ४८ वर्षीय गुरुदत्त पौडेललाई पक्राउ गरेको हो।
पौडेल रिलायबल एचआर सोलुसन प्रालिका सञ्चालक हुन्। उनलाई आइतबार साँझ बागबजारबाट पक्राउ गरिएको सिआइबीले जानकारी गराएको हो।
सिआइबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले पौडेलमाथि वि.सं. २०६८ साल माघ १० गते वैदेशिक रोजगार न्यायाधीकरणले एक वर्ष ६ महिना कैद सजाय तोकेको बताएकी छिन्।
पौडेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ। सिंगापुरमा ‘आकर्षक रोजगारी’ दिने प्रलोभनमा पारेर चार लाख ५० हजार रुपैयाँ प्रतिव्यक्ति लिएर दुबई पठाएको अभियोग लागेको थियो।
ठगीको अभियोगमा पीडितले जाहेरी दिएपछि परेको मुद्दामा न्यायाधीकरणले पौडेललाई कसुरदार ठहर गरेको थियो।