नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले पार्टीको आधिकारिकताबारे चाँडै निर्णय गर्ने बताएका छन्।
पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले आफूहरूकै पक्षमा फैसला दिने बताएका हुन्।
संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओली र उनको समूह पाहाझैं पछारिएको धारणा राखे। ‘तैपनि ओली समूहका नेताहरूले हामी झन् बलियो भयौं भन्न थालेका छन्,’ प्रचण्डले भने, ‘यो के अचम्म हो? पाहा पछारिएझैं पछारिने, अनि जित्यौं रे!’
प्रचण्डले सर्वोच्च अदालतको फैसलाले एउटा सेटिङ भत्काएको उल्लेख गर्दै छिट्टै अर्को सेटिङ भत्किने बताएका छन्।
केही समयभित्र निर्वाचन आयोगले आधिकारिक बहुमतकै पक्षमा निर्णय गर्ने र सूर्य चिन्ह पनि आफूहरूको हुने उनले बताए। ‘त्यसमा शंका गर्नु पर्दैन,’ उनले भने।