सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग वार्ता गर्न समिति गठन गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति गठन गरिएको हो।
समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि रहेका छन्। मन्त्री गुरुङले जारी गरेको विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न २ सदस्यीय समिति गठन गरिएको उल्लेख गरिएको छ। राजनीतिक संवादमार्फत् समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरिएको गुरुङले बताएका छन्।
यसअघि गत शनिबार नेकपाका महासचिव चन्दले विज्ञप्ति प्रकाशित गरी वार्ताका लागि आफूहरू तयार रहेको बताएका छन्।
‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो, यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं,’ चन्दले भनेका छन्।
यसअघि सरकारले पूर्वमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा बनेको वार्ता टोली बनाएका थियो। तर, उक्त समितिलाई विप्लवको नेकपाले अनौपचारिक रुपमा अस्वीकार गरेको थियो।