नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ। स्थायी कमिटी बैठकले दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई पनि हटाउने निर्णय गरेको हो।
संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकले केन्द्रीय कमिटी बैठकमार्फत् संसदीय दलको नेता परिवर्तनको एजेण्डा तय गरेको हो।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरूको उपस्थितिमा सम्पन्न बैठकले स्थायी कमिटी बैठकमार्फत् उक्त एजेण्डा अनुमोदनको प्रस्ताव गरेको हो।
स्थायी कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेण्डा केन्द्रीय कमिटी बैठकमा लाने निर्णय गरेपश्चात प्रधानमन्त्री समेत रहेको केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरिने एक नेताले बताएका छन्।
यसअघि, सोमबार बसेको नेकपा सचिवालय बैठकले नागरिकता र पार्टीको परिचयपत्रसहित केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यलाई सर्कुलर गरेको थियो।
गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गर्ने निर्णय गरेको थियो।
तर, पुस ५ गतेयता भएका निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएन। आयोगको निर्णयसँगै प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लगेर निर्णय गर्ने तयारी गरेको हो।