म्यानमारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो घटना हो।
अनलाइनमा सार्वजनिक तस्वीरहरुमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको र घाइते प्रदर्शनकारीका शरीर रगतपच्छे भएको देखिएको छ। बुधबारको हिंसापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले म्यान्मारको घटनाबाट अमेरिका स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।
उनले म्यानमारको सैनिक दमनका विरुद्धमा विश्वका सबै मुलुकले निन्दा र भत्र्सना गर्नुपर्नेमा जोड दिए। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले म्यानमारमा जारी दमन तत्काल रोक्न आग्रह गरेका छन्। सेनाले सत्ता लिएयता ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको म्यानमारका लागि राष्ट्रसंघका प्रतिनिधि स्रानर बर्गेनरले बताए।
बिहीबार प्रदर्शनकारीहरुले याङ्गुन र मन्डाले शहरका साथसाथै अन्य शहर बजारमा जुलुस निकालेका छन्। सुरक्षाकर्मीले गत फेब्रुअरी १ यता हालसम्म झण्डै एक हजार ५०० प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ।
सेनाले म्यान्मारकी नेतृ आङ सान सुकीसहित उनको दल नेसनल लिग फर डेमोक्रेसीका ठूलो संख्याका नेता एवं कार्यकर्तालाई नजरबन्दमा राखेको छ।