स्पेनिस ला लिगा फुटबलमा आगामी २३ गते आइतबार रियल मड्रिड र एथ्लेटिको मड्रिडबीच महाभिडन्त हुँदैछ। ‘मड्रिड डर्बी’ भनेर परिचित सो खेल नेपाली समयअनुसार साँझ ९ बजे शुरु हुनेछ।
एथ्लेटिको मड्रिड ला लिगाको मुख्य उपाधि दाबेदार टोली हो। त्यसो त, रियल मड्रिड र बार्सिलोना पनि उपाधि दौडमा नै रहेका छन्। मड्रिड डर्बीको खेललाई धेरैले उपाधि दौडको रोचक महाभिडन्त भन्दै व्याख्या गरिरहेका छन्। एकै शहरका दुई ठूला क्लबबीचको भिडन्तलाई धेरैले प्रतिक्षा गरिरहेका छन्।
हाल एथ्लेटिको मड्रिड २४ खेलबाट ५८ अंक बटुल्दै तालिकाको शीर्षस्थानमा छ। समान २५ खेलबाट समान ५३ अंक जोडेका बार्सिलोना र रियल मड्रिड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। मड्रिड डर्बीको नतिजाले उपाधि दौडलाई केही हदसम्म प्रभाव पार्नेछ। तेस्रो स्थानमा रहेको रियल विजयी भएमा उसले एथ्लेटिकोसँगको अंक दुरी २ मा झार्नेछ। एथ्लेटिकाे विजयी भएमा उसले शीर्षस्थानमा अग्रता बनाउने छ।
यस खेलअघि बार्सिलोनाले ओसासुनासँग खेल्नेछ। बार्सिलोना र ओसासुनाबीचको खेल नतिजा र मड्रिड डर्बीको नजिताले अंक तालिकामा रियल र बार्सिलोनाको स्थानलाई निर्धारण गर्नेछ।
यद्यपी, रियलले एथ्लेटिकोलाई पराजित गर्न सकेमा बार्सिलोना र रियल दुबै टोली उपाधि यात्रामा थप बलियो बन्नेछन्। सिजनको शुरुवातमा उच्च लयमा रहेको एथ्लेटिको पछिल्ला खेलहरुमा धर्मराएको छ। पछिल्लो ५ खेलमध्ये उसले २ खेलमात्र जीतेको छ। रियलले पछिल्लो ५ खेलमध्ये ४ खेलमा जीत निकालेको छ।
हालसम्म दुई टोलीले ४६ खेलमा एकअर्काको सामना गरेका छन्। तीमध्ये रियलले २४ खेल जीतेको छ भने एथ्लेटिकोले १० खेल जीतेकाे छ। १२ खेल बराबरीमा सकिएको छ। हेड टु हेडमा रियल बलियो देखिएको छ। यद्यपी, स्पेनका दुई ठूला क्लब र ला लिगा उपाधि दाबेदार टोलीबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।
याे पनि पढ्नुहाेस् :
‘केपी ओलीले शासन गर्ने नैतिक आधार गुमाइसक्नुभयो, प्रतिनिधिसभाले विकल्प खोज्छ’ (अन्तरवार्ता)