स्पेनिस कोपा डेल रे फुटबलको फाइनल खेलमा बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३–२ ले पराजित गर्दै विल्वाओले बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको हो।
पहिलो सेमिफाइनलमा सेभियाविरुद्ध उत्कृष्ट पुनरागमन जीत निकाल्दै बार्सिलोना फाइनल पुगेको थियो। कोपा डेल रे को उपाधि भिडन्त अप्रिल १७ मा हुँदैछ। उक्त खेलमा बार्सिलोनालाई विल्वाओविरुद्ध बदला लिने मौका छ। गत जनअरी १८ मा भएको स्पेनिस सुपर कपको फाइनल खेलमा विल्वाओले बार्सिलोनालाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको थियो।
बार्सिलोना उक्त हारको बदला लिँदै सिजनको पहिलो उपाधि जित्ने दाउमा छ। त्यस्तै, विल्वाओ सुपर कपमा जस्तै कोपा डेल रे मा पनि बार्सिलोनालाई स्तब्ध पार्ने दाउमा छ। हालसम्म दुई टोलीले ४६ खेलमा एकअर्काको सामना गरेका छन्।
तीमध्ये २९ खेलमा बार्सिलोना विजयी भएको छ भने ६ खेलमा मात्र विल्वाओले जीत निकालेको छ। दुई टोलीबीचको ९ खेल बराबरीमा सकिएको छ। पछिल्लो पटक फेब्रुअरी १ मा ला लिगाको खेलमा २ टोलीको भेट भएको थियो। उक्त खेल बार्सिलोनाले २–१ ले जीतेको थियो।